अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्य केन्द्रबिन्दु कैलालीको अत्तरिया चोकको बिचमा राखिएको बिल बोर्डमा गोदावरी नगरपालिकाले आफ्नै सामाग्री राख्ने भएको छ । २०७४ सालमा नगरपालिकाले बुटवलको क्यालडोन ग्राफिक्स नामक कम्पनीलाई १५ बर्ष सम्मको लागी ब्यबसायिक प्रायोजनको ठेक्का सम्झौता गरेको भएपनि अब भने आफ्नै सामाग्री राख्ने भएको हो ।
नगरपालिकाले उक्त बिल बोर्डमा बिज्ञापन गरेबाफत कर तोके बमोजिम कम्पनीबाट राजस्व असुल्ने गरी ठेक्कामा दिएको थियो । यद्धपी कम्पनीले केही समय मात्रै बिज्ञापन सामाग्री राख्न पाएको थियो । प्रदेश कै मुख्य केन्द्रबिन्दुका रुपमा रहेको मुख्य चोकमा ब्यबसायिक बिज्ञापन राखेर प्रचार गर्न नहुने भन्दै अत्तरियाबासीले बिरोध गर्न थालेपछि कम्पनीले गत बर्ष देखी काम गर्न छोडेको छ ।
तर कम्पनीसंग भएको सम्झौता भने रद्ध भएको छैन । ठेकेदार कम्पनी सँग सम्झौता कायमै रहेको गोदावरी नगरपालिकाका राजस्व शाखा प्रमुख राजेश प्रसाद जोशीले बताए । कम्पनीले पनि ब्यबसयिक बिज्ञापन राखेर नै नगरपालिकालाई कर तिर्ने भनिएको भएपनि उसले बिज्ञापन राख्ने बित्तिकै बिरोध शुरु भएको उनले बताए । उनले अब नगरपालिकाले नै त्यँहा केही प्रचारात्मक आफ्नै सामाग्री राख्ने तयारी गरिरहेको बताए ।
कम्पनीले बिल बोर्डमा यस क्षेत्रको तापक्रम,समय, सीसी क्यामेरा र अन्य ब्यबसायिक सामाग्री भिडियोमा देखाउने बताउँदै आएको थियो । तर अहिले उक्त बिल बोर्डको अबस्था अस्तब्यस्त बनेको छ । जसका कारण अत्तरियाको मात्रै होईन पुरै सुदूरपश्चिकको सुदरता हराएको छ ।

