सुत्ने स्थानमा हामीले जीवनकै एकतिहाई समय बिताउने भएकाले आवास निर्माण गर्दा निकै ध्यान पुर्याउनुपर्छ । वास्तु शास्त्रका अनुसार सुत्ने कोठाको दिशा, पलङ तथा सुत्ने तरिका मिलेन भने मानिस मानसिक रूपमा कमजोर हुने, आर्थिक रूपमा असफल हुने, अनि शारीरिक रूपमा रोगी हुने विश्वास छ ।
यदि कोही मानिस वास्तु शास्त्रको मान्यताविपरीत गलत दिशामा रहेको कोठामा सुत्छ भने उसको जीवनमा नकारात्मक प्रभावहरुले असर गर्न थाल्छ । कार्य क्षेत्रमा नकारात्मकता प्रभाव हावी हुने, स्वास्थ्यसम्बन्धी समस्याहरुले चिन्तित बनाउने छ भने पारिवारिक सम्बन्ध गडबड हुन थाल्ने ज्योतिषहरू बताउँछन् ।
सुत्ने खाट अर्थात् पलङमुनि गह्रौं वस्तु नराख्नुस् । यसले पलङमुनि फोहोर मात्र गर्दैन । वास्तुको हिसाबले तपाईंलाई तनाव पनि दिन्छ । धातुका सामग्री पनि सुत्ने पलङमुनि राख्नु हुँदैन । खिया लाग्ने चिज सुत्नेस्थलमा हुनु घातक मानिन्छ । कतिपयले पलङमुनि जुत्ता चप्पल पनि राख्ने गर्दछन् । यसले नकारात्मक उर्जा पैदा गर्ने भएकाले नकारात्मक भावना आउने गर्दछ ।
सुत्ने पलङमुनि फोहोर पनि राख्नु हुँदैन । पलङमुनि फोहोर हुनु पनि नराम्रो मानिन्छ । हामीमध्ये कतिपयले पलङ नजिकै खुट्टा पुछ्ने चकटी राख्ने गर्दछौँ । पलङमा जानुअघि खुट्टा पुछेर सुत्न जान्छौँ तर यसले पनि नकारात्मक उर्जा पैदा गर्दछ त्यसकारण यसलाई पलङबाट अलि टाढै राख्नुपर्दछ । सुत्दा ओड्ने च्यादर वा सिरानी पनि फोहोर हुनु नराम्रो मानिन्छ । यदि सयन कक्षमा ढोका छ भने त्यसलाई बन्द नै गरेको राम्रो मानिन्छ ।
यी चिजहरुले अविवाहित व्यक्तिको मनमा पनि विभिन्न नकारात्मक भावना आउने र गलत कार्य गर्ने खतरा रहेको वास्तु शर्माको दाबी छ । विवाहपछि पनि यस्ता कुराले विभिन्न समस्या ल्याउन सक्छ ।
छोरा–छोरीको विवाह भएन भने पनि पलङमुनि राखिएका वस्तु हटाउँदा उनीहरुको विवाह हुने दाबी वास्तु शास्त्रीहरुको छ । त्यसैगरी ऊर्जावान् दम्पतीहरुका लागि पनि वास्तु शास्त्रले सुत्नका लागि दक्षिण–पश्चिम या उत्तर–पश्चिमको दिशामा रहेको कोठालाई उपयुक्त मानेको छ ।
यी स्थानमा भएको शयन कक्षले नयाँ विवाहित जोडीको सम्बन्ध सुमधुर बनाउँछ वास्तु शास्त्रीहरूको ठहर छ । वास्तुशास्त्रले बालबालिकाहरुका लागि पूर्वको कोठालाई उचित मानेको छ भने पाहुनाहरुका लागि उत्तर–पश्चिम दिशाको कोठा उपयुक्त बताएको छ । पाहुना धेरै दिन रहँदा घरको वातावरण उपयुक्त नहुने भएकोले उत्तर–पश्चिम दिशामा सुत्ने व्यवस्था मिलाएमा लामो समय बस्दैनन् भन्ने वास्तुशास्त्रको मान्यता रहेको छ ।

