अत्तरिया : सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने समय भएको र सरकारसँग बिजनेस नभएका भन्दै असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख समक्ष अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
यस्तै आजको बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड बजेट पनि स्वीकृत गरेको छ भने प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।

