अत्तरिया : सरकारले बाढी पहिरोबाट मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिंहदरबारमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।
बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए । पछिल्लो ४ दिनयताको वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशभर ५० जना भन्दा धेरैको मृत्यु भएको छ ।

