अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मा रहेको खुटिया खोलाले बगाएर बेपत्ता भएका सोही ठाउँका ट्याक्टर चालक गणेश आउजीकी छोरीलाई एक बिधालयले निशुल्क पढाउने भएको छ ।

गोदावरी ८ स्याउलेमा रहेको दुर्गा ज्योति बोर्डिङ्ग स्कुलले खोलामा ढुङ्गा संकलनका लागि गएका बेला एक्कासी आएको बाढीले बेपत्ता भएका आउजीकी ६ बर्षिया छोरी ऋतु आउजीलाई निशुल्क पढाउने भएको हो ।

स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष तथा धर्मेश्वर हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक गोपाल देउवाको बिशेष पहलपछि सो स्कूलका सञ्चालक धर्मराज जोशी र राजेन्द्र बिक्रम शाहले बेपत्ता आउजीकी छोरी ऋतुलाई निशुल्क पढाउने बताएका छन् ।

उनलाई आजै स्कूल संचालकद्धय जोशी र शाहले युकेजी कक्षमा भर्ना गरेका हुन् । सोही स्कूलमा पढ्दै आएकीमा बुवा बेपत्ता भएपछि आर्थिक अबस्था कमजोर हुदाँ अब उनलाई कसरी पढाउने , लेखाउने भन्दै परिवार पिडामा रहेको बेला दुर्गा ज्योति बोर्डिङ्ग स्कुलले भने ठूलो गुन लगाएको स्याउले बजार व्यवस्थापन समितीका अध्यक्ष देउवाले बताए ।

सानी बालिकाको अभिभावकत्व निभाएको भन्दै उनले बिधालय परिवारलाई धन्यवाद दिदै सम्मान ब्यक्त गरेका छन् । यही कात्तिक १ गते साथीसंगै ढुङ्गा लिन गएका आउजी बेपत्ता भएको ४ दिन पुगिसक्दा समेत फेला परेका छैनन् ।

घटना घटेको दिन देखी नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थल देखी खुटिया खोला वारपार सबै तिर खोजी गर्दा पनि कहि कतै फेला पार्न नसकेको हो । अहिले सम्म पनि छोराका सास , लास केही नभेटिएपछि यतिबेला उनको परिवार निकै पिडामा रहेको छ । आउजीकी श्रीमति , एक छोरी र एक छोरा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय