अत्तरिया : सुदूरपश्चिमका किसानहरु हरेक बर्ष खेतीको समयमा मल नपाउदाँ समस्या खेप्दै आएका छन् । हरेक बर्ष यस प्रदेशमा किसानहरुलाई आवश्यक परेका बेला मल अभाव हुने गरेको छ । अहिले तेलहन बालीका रुपमा रहेको तोरी छर्ने बेला भएको छ तर किसानले अझै मल पाउन सकेका छैनन् ।

मल नपाउँदा यस पटक किसानहरुले मलबिनै तोरी छरिरहेका छन् । डिएपी राखेर तोरी छर्नुपर्ने भए पनि मल नपाउदाँ मलबिनै तोरी छरिरहेका स्थानिय किसानहरु बताउँदछन् । सुदूरपश्चिम कात्तिक पहिलो सातादेखि तोरी बाली रोप्ने उपयुक्त समय मानिन्छ । यही समय छोप्दै सुदूरपश्चिमका किसान यतिबेला खेतबारीमा मलबिनै तोरी छर्दै आएका छन् ।

सरकारले वर्षमा दुईपटक खाद्य बालीका लागि भन्दै सुदूरपश्चिम प्रदेशमा रासायनिक मल पठाउने गर्छ । धान खेतीका लागि असार अगाडि पठाएको मल सकिएपछि तोरी तथा गहुँ खेतीका लागि भने अहिलेसम्म सरकारले डिएपी मल पठाउन नसकेको हो ।

केही दिनअघि एक सय मेट्रिक टन युरिया मल आएपनि डिएपी भने अहिलेसम्म आउन सकेको छैन। सुदूरपश्चिम प्रदेशको कृषि सामग्री कम्पनी लिमिटेडमा असारपछि रासायनिक मल डिएपी नआएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका कायम मुकायम प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीले बताए ।

उनले मल लिनका लागि किसानहरु दैनिक कार्यालमा धाउने गरेको बताए । उनले मलका लागि माथिल्लो निकायमा जानकारी गराई सकेकाले तिहारपछि मल आउने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय