अत्तरिया : देशका प्रमुख धाम मध्येको एक कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा महाकुम्भ र ६ वर्षमा अर्धकुम्भ मेला लाग्ने गोदावरीमा यस बर्ष अर्धकुम्भको समय परेकाले अर्ध कुम्भ लाग्ने भएको हो ।
अर्ध कुम्भ मेला लाग्ने भएपछि यसको तयारीका लागि छलफल गरिने भएको छ । यसका लागि यही पुस १० गते अत्तरियामा भेला बोलाइएको छ । अर्धकुम्भ मेलाको आयोजनाबारे छलफल गर्न १० गते दिउसो १ वजे अत्तरियाकोे पतनजली योग समितिको सभा हलमा सर्वपक्षिय भेला बोलाइएको गोदावरी धाम विकाश समितिका अध्यक्ष पदमराज जोशीले बताए ।
उनले अर्धकुम्भ मेलालाई कोरोनाको प्रकोपबाट सुरक्षित पनि रहने र कुम्भ मेलालाई निरन्तरता पनि दिन सक्किने गरि के कस्ता धार्मिक अनुष्ठानहरु गर्न सकिन्छन ? के कस्ता कार्यक्रम तर्जुमा गर्दा धार्मिक पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ ? भन्ने सम्बन्धि राय परामर्श लिई कार्यक्रम तर्जुमा गरि आवश्यक कार्य गर्नका लागि भेला बोलाइएको बताए ।
भेलामा सहभागी भएर यस विषयमा आवश्यक सुझावहरु दिन र सोही सुझावहरु टिपोट गरि कार्यक्रम तर्जुमा गर्दा आधारको रुपमा लिने उनले बताएका छन् । ०७२ सालमा पहिलो पटक गोदावरीमा माघे संक्रान्तीको दिनदेखि एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो ।

